धनगढीः कञ्चनपुरको मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालयबाट ७ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडी सेवाग्राहीहरूलाई हैरानी दिईरहेको भनि बिहिवार जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि चार जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पक्राउ पर्नेमा देव अनलाईन सेन्टरमा काम गर्ने बेदकोट नगरपालिका–५ धरमपुर बस्ने सालम बोगटी, दिल विक, सागर घरेडी र दिपेन्द्र कुमार बोहरा रहेका छन।
यसैगरी यातायात व्यवस्था कार्यालय कञ्चनपुरको गेट अगाडीबाट २ जना र मालपोत कार्यालय कञ्चनपुरको गेट अगाडी १ जना गरी ३ जना पक्राउ परेका छन्। मालपोत कार्यालय अगाडीबाट भीमदत्त नगरपालिका–५ बस्ने कैलाश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै यातायात व्यवस्था कार्यालयबाट शालिग्राम अनलाईन सेवामा काम गर्ने बेदकोट नगरपालिका–६ बस्ने कपिल जोशी र भीमदत्त नगरपालिका–१८ बस्ने हिमान्शु चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सेवाग्राहीहरूलाई हैरानी दिईरहेको भनि जानकारी प्राप्त भएपछि सातै जनालाई बिहिवार पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।









