April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
शान्ति प्रसाद जोशी

मानव सेवा आश्रमद्वारा सुदूरपश्चिममा १० दिने उद्धार यात्रा सुरु

२०८२ चैत्र २६

120

धनगढी- मानव सेवा आश्रम शाखा कार्यालय धनगढीले आजदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सहयोगापेक्षी, बेसहारा तथा सडक आश्रित मानवहरूको उद्धार गर्ने उद्देश्यले विशेष उद्धार यात्रा औपचारिक रूपमा सुरु गरेको छ । मानवीय सेवाको भावनालाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो अभियानले प्रदेशभरका असहाय व्यक्तिहरूलाई सुरक्षित आश्रय, उपचार तथा पुनः स्थापनाको अवसर प्रदान गर्ने लक्ष्य राखेको  मानव सेवा  आश्रम कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले बताए ।

संयोजक शाहका अनुसार यस उद्धार यात्राअन्तर्गत सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा पुगेर सडकमा कष्टकर जीवन बिताइरहेका, परिवारबाट टाढिएका, मानसिक तथा शारीरिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिहरूको खोजी तथा उद्धार गरिनेछ । अभियानको पहिलो दिन आज उद्धार टोली पहाडी जिल्ला डडेलधुरातर्फ प्रस्थान गरेको छ, जहाँ विभिन्न स्थानहरूमा भेटिने सहयोगापेक्षी मानवहरूको पहिचान गरी उद्धार प्रक्रिया अघि बढाइनेछ ।

मानव सेवा आश्रमका प्रतिनिधिहरूका अनुसार, उद्धार गरिएको प्रत्येक व्यक्तिलाई तत्काल आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा, खानपान, सरसफाइ तथा सुरक्षित बसोबासको व्यवस्था गरिनेछ । आवश्यक परेमा थप उपचारका लागि अस्पतालसम्म पु¥याउने तथा दीर्घकालीन रूपमा आश्रममै राखेर पुनः स्थापनाको प्रक्रिया पनि अघि बढाइने जनाइएको छ ।

यो अभियान करिब १० दिनसम्म सञ्चालन हुने छ । यस अवधिमा टोलीले डडेलधुरा सहित बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला लगायतका पहाडी तथा हिमाली जिल्लाहरूमा पुगेर उद्धार कार्यलाई निरन्तरता दिने योजना रहेको छ । साथै, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संघ–संस्थासँग सहकार्य गर्दै प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गरिने आश्रमले जनाएको हो ।

मानव सेवा आश्रम विगत लामो समयदेखि देशका विभिन्न भागमा बेवारिसे, बेसहारा तथा सडक आश्रित मानवहरूको उद्धार, संरक्षण र पुनः स्थापनामा सक्रिय रहँदै आएको संस्था हो । आश्रमले मानवताको सेवामा निरन्तर योगदान दिँदै आएको छ र यस पटकको सुदूरपश्चिम उद्धार यात्राले पनि त्यही अभियानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।