April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

डोटीबाट विजयी काँग्रेसका भरत खड्का लेखा समितिको सभापति

२०८३ बैशाख ४

110

काठमाडौँः सार्वजनिक लेखा समितिको सभापतिमा डोटीबाट विजयी भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । समितिको शुक्रवार बसेको बैठकले खड्कालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य सीताराम साहले सभापति पदका लागि खड्काको मात्र उम्मेदवारी परेकाले उनलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गरे। खड्कालाई सभापति पदमा चयन गरियोस् भनी मोहनबहादुर आचार्यले प्रस्ताव गरेका थिए।

निर्वाचित भएपछि नवनिर्वाचित सभापति खड्काले सार्वजनिक लेखा समितिलाई राज्यको महत्त्वपूर्ण अङ्गका रूपमा परिभाषित गर्दै आफ्नो कार्यकालमा आर्थिक सुशासन र वित्तीय अनुशासनलाई प्रमुख एजेन्डा बनाउने स्पष्ट पारे। उनले विगतका अनुभव, योग्यता र क्षमतालाई अधिकतम प्रयोग गर्दै समितिको गरिमा बढाउने प्रतिबद्धता जनाए।

“मुलुकको आर्थिक विकासका लागि आर्थिक अनुशासन र सुशासन अनिवार्य सर्त हो,“ सभापति खड्काले भने, “विगतमा देखिएका विसङ्गतिहरूलाई अब दोहोरिन दिइने छैन । नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्ने गरी समितिले आफ्नो सक्रियता बढाउनेछ ।“

सभापति खड्काले सङ्घदेखि स्थानीय तहसम्मका सरकारी निकायहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको औँल्याउँदै व्यापक सुधारको आवश्यकता रहेको बताए। उनका अनुसार मुलुकको आर्थिक विकासको आधार नै वित्तीय अनुशासन भएकाले यसको पालना गराउन समिति कडा रूपमा प्रस्तुत हुनेछ । दिगो विकास र सुशासनका लागि सरकारी निकायहरूको खर्च प्रणाली र लेखा परीक्षणलाई थप व्यवस्थित बनाइने उनको भनाइ थियो ।