September 9, 2026, Wednesday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
Trending
जन आवाज

उदयपुरमा छिमेकीबीच झगडा, एकको ज्यान गुम्यो

२०८३ बैशाख ७

560

उदयपुर, ७ वैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबिचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको हो।

घटना विवरण अनुसार, आइतबार साँझ करिब सवा ८ बजे स्थानीय ७३ वर्षीय राम प्रसाद राई र ६४ वर्षीय माहाशेर राईबिच छरछिमेक सम्बन्धी विषयमा विवाद भएको थियो। विवादका क्रममा आवेगमा आएर राम प्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट माहाशेरको छातीको दायाँ पट्टिको माथिल्लो भागमा गहिरो चोट लागेको थियो।

घाइते भएका माहाशेरलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर, अस्पताल पुऱ्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भइसकेको थियो।

हत्यामा संलग्न राम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बूको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

भर्खरै