May 6, 2026, Wednesday
२०८३ बैशाख २३
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

सुदूरपश्चिम एमाले संसदीय दलको नेता परिवर्तन गर्न गुण्डुमा निर्णायक छलफल हुँदै

२०८३ बैशाख २३

150

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली ले प्रदेशसभा सदस्यहरूलाई काठमाडौँ बोलाएका छन्।

अध्यक्ष ओलीको आह्वानमा संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल सहित सुदूरपश्चिमका सबै ११ जना प्रदेशसभा सदस्य काठमाडौँ पुगेका छन्। उनीहरूबिच देखिएको आन्तरिक विवाद समाधानका लागि भक्तपुरको गुण्डुमा बुधवार छलफल तय गरिएको छ।

एक प्रदेशसभा सदस्यका अनुसार प्रारम्भिक रूपमा बिहान ११ बजेका लागि बैठक बोलाइएको सूचना आए पनि औपचारिक समय भने अझै तय भइसकेको छैन। “अध्यक्ष कमरेडसँग छलफल गर्न ११ बजे गुण्डु पुग्ने भनिएको छ, तर समय फेरिन पनि सक्छ,” ती सदस्यले बताएका छन्।

सुदूरपश्चिम एमालेभित्र लामो समयदेखि संसदीय दलका नेता रावलको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै आएको छ। दलभित्रैबाट नेतृत्व परिवर्तनको माग उठ्दै आएको र पछिल्लो समय त्यो झनै तीव्र बनेको देखिन्छ।

प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रदेशका नेता तथा सांसदहरूको समूहले छुट्टाछुट्टै रूपमा अध्यक्ष ओलीलाई भेटेर रावललाई दल नेताबाट हटाउनुपर्ने माग राखेका थिए। उनीहरूले सहमतिमै नेतृत्व परिवर्तन गर्नुपर्ने, अन्यथा संसदीय दलभित्र लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेता चयन गर्न दिनुपर्ने अडान लिएका छन्।

यसअघि उपनेता सन्तोष शर्मा थापा सहितका केही सांसदले पनि गुण्डु पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए। सो क्रममा दल नेता परिवर्तनसँगै प्रदेश सरकारमा मन्त्री हेरफेरको विषयसमेत उठाइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार नेतृत्व परिवर्तनको विषयमा अध्यक्ष ओली सकारात्मक देखिएका छन्। तर नयाँ नेता को हुने भन्ने विषयमा भने अझै सहमति जुट्न सकेको छैन।

हाल दलको नेताका लागि उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र प्रदेशसभा सदस्य धर्मराज पाठक बीच प्रतिस्पर्धा देखिएको छ। थापा र मल्ल एमालेका केन्द्रीय सदस्य हुन् भने पाठक पूर्व प्रदेश सचिव रहिसकेका छन्।

वर्तमान दल नेता रावल भने पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। उक्त महाधिवेशनमा थापा, मल्ल र रावल तीनै जना अध्यक्ष ओली निकट प्यानलबाट उम्मेदवार बनेका थिए।

अब गुण्डुमा हुने छलफलले सुदूरपश्चिम एमाले संसदीय दलको नेतृत्व विवाद टुंग्याउने अपेक्षा गरिएको छ।