September 23, 2026, Wednesday
२०८३ आश्विन ७
Nepal 1:37:26 pm
Trending
जन आवाज

बाजुरामा धमाधम सुक्दै पानीका नाउला

२०८३ जेष्ठ ५

315

बाजुरा : बाजुराका विभिन्न स्थानमा रहेका पानीका नाउला धमाधम सुक्न थालेका छन् । यहाँका पुराना पुस्ताले खानेपानीका रूपमा प्रयोग गर्दै आएका नाउला पछिल्लो समय सुक्न थालेपछि नयाँ पुस्तामा समेत चिन्ता बढेको छ ।
बुढीनन्दा नगरपालिका का स्थानीय दत्त विकले गाईभैंसीको गोठमा आफू तथा पशुचौपायालाई पानी खुवाउन सहज हुने नाउला अहिले धमाधम सुक्न थालेको बताए। “माथि लेकमा खर्क छन् । गाईभैंसी लेकमा लगेका बेला हामीले पुराना पुस्ताले प्रयोग गर्दै आएका नाउलाको पानी खाने गथ्र्यौँ ,” उनले भने। अहिले ती नाउला सुक्न थालेपछि गाईगोरुलाई समेत पानी खुवाउन समस्या हुने गरेको विकले बताए।
यो समस्या एउटा क्षेत्रको मात्र नभई जिल्लाका नौवटै स्थानीय तहका स्थानीयले भोगिरहेको उनले बताए। लेक तथा खर्कमा भेडाबाख्रा र गाईभैंसी चराउन लैजाँदा त्यहाँ रहेका नाउलाबाट पानी खान सहज हुने गरे पनि अहिले अधिकांश नाउला सुक्न थालेपछि खर्कमा बस्नेहरूलाई समेत खानेपानीको समस्या हुन थालेको छ ।
गाउँमा जथाभावी सडक खन्नु तथा बाढीपहिरोका कारण धेरै पानीका मुहान सुक्दै गएको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा डोजरले जमिन थर्काउने र त्यसपछि पहिरो जाने भएकाले पनि पानीका नाउला सुक्दै गएको पुराना पुस्ताले बताएका छन् ।
जिल्ला वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डिसीले अनावश्यक सडक विस्तार र वनजंगल फँडानीका कारण पानीका स्रोत क्रमशः सुक्दै गएको बताए।