June 1, 2026, Monday
२०८३ जेष्ठ १८
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

सरकार नयाँ योजना पुरानै, के छन् थप घट

२०८३ जेष्ठ १७

230

धनगढी। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार (जेठ १५ गते) बजेट प्रस्तुत गरिसकेको छ। अर्थमन्त्री डा. वर्णिम वाग्लेले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिमका लागि केही नयाँ कार्यक्रम देखिए पनि अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।

 

केन्द्र सरकारले सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमा सुदूरपश्चिम प्रदेशका अधिकांश कार्यक्रम पुरानै उल्लेख गरिएका छन्। तर तिनका लागि रकम खुलाइएको छैन।

 

बजेटमा सुदूरपश्चिमका लागि सघन दलित बस्ती-लक्षित नमुना होमस्टे सञ्चालन, धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ हजार क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माणलगायत केही नयाँ कार्यक्रम समेटिएका छन्।

 

सरकारले बजेटमार्फत कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ मा एमबीबीएससहित चिकित्सा शिक्षाका चार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

 

सुदूरपश्चिमका प्रसिद्ध छ क्षेत्र जोडेर विशिष्ट पर्यटकीय विकास कार्यक्रम अगाडि बढाइने कुरा पनि बजेटमा छ। सडक पूर्वाधारतर्फ पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर-गड्डाचौकी स्तरोन्नतिको अध्ययन सम्पन्न गर्ने भनिएको छ।

 

यसअघि २०८२/०८३ को बजेटमा चालु आर्थिक वर्षभित्रै स्तरोन्नतिको काम सुरु हुने बताइएको थियो। गड्डाचौकी-अत्तरिया खण्ड स्तरोन्नतिको कार्यका लागि चालु आर्थिक वर्षमा २१ अर्ब १९ करोड विनियोजन गरिएको थियो।

 

अहिलेको बजेटमार्फत अर्थमन्त्री वाग्लेले १ हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने काम पाँच वर्षभित्र सम्पन्न गर्ने र यसका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको घोषणा गरेका छन्।

 

यस्तै महाकाली करिडोरको दार्चुला-तिंकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइएको उल्लेख छ। सेती करिडोर र खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने बजेटमा उल्लेख छ।

 

ऊर्जातर्फ बेतन कर्णाली र चैनपुर सेती आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउने तथा बुढीगंगा जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। बजेटमा सिँचाइतर्फ दुई योजना अटाएका छन्।

 

महाकाली सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्ने तथा रानीजमरा सिँचाइ आयोजनाअन्तर्गत लम्की क्षेत्रको पूर्वाधार विकास गर्ने योजना बजेटमा समेटिएको छ। महाकाली नदीको व्यवस्थापनका लागि पनि रकम छुट्याएको अर्थमन्त्री वाग्लेले बताएका छन्।

 

रामारोशन, खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुनलाई जोडेर सुदूरपश्चिममा विशिष्ट चर्तुर्दिक पर्यटकीय विकास अगाडि बढाउने पनि बेज वक्तव्यमा उल्लेख छ। खप्तड, रामारोशन, बडीमालिका, बुढीनन्दालाई जोड्नेगरी उच्च पहाडी पर्यापर्यटन पदमार्गको विकास गर्ने समेत बजेटमा भनिएको छ।

 

आगामी आर्थिक वर्षमा खप्तड-बडीमालिका-शुक्लाफाँटा प्रादेशिक पर्यटकीय कोरिडोर बनाइने अर्थमन्त्री वाग्लेले बताएका छन्। यस्तै सूचना तथा सञ्चारतर्फ सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिने बताइएको छ।

 

कञ्चनपुरको बेलौरी र टाउनमा बजार ढल प्रशोधन केन्द्र निर्माण गरिने कुरा बजेटमा छ। महाकाली नदीको व्यवस्थापन कार्यक्रम र दोधारा चाँदनीमा एकीकृत जाँच चौकी दुई वर्षभित्र सक्ने उल्लेछ। कञ्चनपुरको मझगाउँ विमानस्थल र दैजी छेला औद्योगिक क्षेत्रको विषय भने बजेट वक्तत्वमा समेटिएको छैन।