July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

डोटीको बुडरमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

२०८३ असार ५

365

डोटी : विपद् व्यवस्थापन तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले डोटीमा तेस्रो विपद् व्यवस्थापन बेस स्थापना गरेको छ। डोटीको जोरायल गाउँपालिका-२, वुडरमा स्थापना गरिएको उक्त बेसको बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले बेसको उद्घाटन गरे ।
यसअघि डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा यस्ता बेस स्थापना भइसकेका छन् ।

सुवेदीले विपद्को समयमा प्रत्येक पल महत्वपूर्ण हुने उल्लेख गर्दै नवस्थापित बेसले विपद् पूर्वतयारी, खोज तथा उद्दार, राहत वितरणलगायतका कार्यलाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास जनाए । उनले सशस्त्र प्रहरी बल नं। ७ बैद्यनाथ बाहिनी मुख्यालयमा तालिमप्राप्त गोताखोरको व्यवस्था गरिएको तथा प्रदेशका सबै जिल्लामा विपद् व्यवस्थापनका लागि तालिमप्राप्त जनशक्ति तैनाथ रहेको जानकारी दिए ।

कार्यक्रममा विशिष्ट अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले नवस्थापित बेस सञ्चालनका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहबाट पूर्ण सहयोग र समन्वय गरिने बताए।

सशस्त्र प्रहरी बलले प्रदेशका विभिन्न स्थानीय तहमा समुदाय विपद् स्वयंसेवक तालिम तथा पानीजन्य विपद्सम्बन्धी सिमुलेसन अभ्यास सञ्चालन गर्दै आएको छ। गत जेठ २९ गते कैलालीको चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरी बलको संयोजनमा बृहत् कृत्रिम विपद् अभ्याससमेत सम्पन्न गरिएको थियो।

उद्घाटन कार्यक्रममा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी, निर्माण व्यवसायी, समुदाय विपद् स्वयंसेवक, विपद् सूचक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।