July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

“पत्रकार डाका हुन्” भन्दै वडा अध्यक्षको विवादास्पद अभिव्यक्ति, कार्यालय समयमा सेवाप्रवाह अस्तव्यस्त भएको स्थानीयको आरोप

२०८३ असार २४

3K

नरेश प्रसाद जोशी, धनगढी- बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमस्थित वडा कार्यालयमा सार्वजनिक सेवा प्रवाहको अवस्था फेरि एकपटक विवादमा परेको छ । कार्यालय समयमा वडा अध्यक्ष अनुपस्थित रहेको, कृषि तथा पशुपन्छी (भेटेरिनरी) शाखा लामो समयसम्म बन्द रहेको र सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासोबीच प्रतिक्रिया लिन खोजेका पत्रकारमाथि वडा अध्यक्ष नवराज जोशीले अभद्र तथा विवादास्पद अभिव्यक्ति दिएको आरोप लागेको छ।

स्थानीयवासीका अनुसार सोमबार बिहान ९ बजेदेखि करिब ११ बजेसम्म वडा कार्यालयमा सेवा प्रवाह प्रभावकारी हुन सकेन । कृषि शाखा र पशुपन्छी (भेटेरिनरी) शाखामा कर्मचारी उपस्थित थिएनन् भने वडा अध्यक्ष नवराज जोशी पनि कार्यालयमा थिएनन् । विभिन्न काम लिएर कार्यालय पुगेका सेवाग्राहीहरू लामो समयसम्म पर्खिन बाध्य भएको उनीहरूको भनाइ छ ।

यस्ता समस्या आजका मात्र नभएर बिगत लामो समय दिखि देखिदै आएको स्थानिय सेवाग्राही कृष्ण भट्टले बताएका छन् । उनका अनुसार केही दिन अगाडी उनले बिहान ९ बजे वडा अध्यक्षलाई टेलिफोन सम्पर्क गरी कार्यालयमा नहुनुको कारण सोध्दा “खाना खाएर आधा घण्टाभित्र कार्यालय पुग्छु” भन्ने जवाफ पाएका थिए । तर करिब १०ः३० बजे पुनः सम्पर्क गर्दा पनि वडा अध्यक्षले सोही जवाफ दोहोर्याएका थिए । स्थानीयका अनुसार साढे ११ बजेसम्म पनि वडा अध्यक्ष कार्यालयमा नपुगेपछि सेवाग्राहीहरू निराश भएर फर्किनुपरेको अवस्था सिर्जना भएको थियो ।

स्थानीयहरूले यो घटना कुनै एक दिनको मात्रै नभएको दाबी गरेका छन् । उनीहरूका अनुसार वडा कार्यालयमा कर्मचारी नियमित नबस्ने, जनप्रतिनिधि समयमै कार्यालय नआउने र सामान्य सेवा लिन समेत पटक–पटक धाउनुपर्ने अवस्था लामो समयदेखि दोहोरिँदै आएको छ । पटक–पटक मौखिक रूपमा गुनासो गर्दा पनि सुधार नदेखिएको स्थानीयको भनाइ छ ।

यही विषयको वास्तविक अवस्था बुझ्न तथा सम्बन्धित पक्षको धारणा लिन जनआवाज मिडियाका पत्रकार नरेशप्रसाद जोशीले वडा अध्यक्ष नवराज जोशीसँग टेलिफोनमार्फत सम्पर्क गरेका थिए । पत्रकारले कार्यालय समयमा अनुपस्थित हुनुको कारण, कृषि शाखा र भेटेरिनरी शाखामा कर्मचारी नहुनुको कारण तथा स्थानीयले उठाएका गुनासोबारे प्रतिक्रिया मागेका थिए ।

वडा अध्यक्ष जोशीले भने आफू नियमित रूपमा कार्यालयमा रहने दाबी गर्दै भेटेरिनरी शाखामा एक जना मात्रै कर्मचारी रहेको र उनी खोप कार्यक्रममा खटिएको बताए । कृषि शाखाका विषयमा भने दरबन्दी रहे पनि कर्मचारी किन उपस्थित नभएको, कहाँ सरुवा भएको वा किन हाजिर नभएको भन्नेबारे आफूलाई जानकारी नभएको स्वीकार गरे ।

तर कुराकानीकै क्रममा वडा अध्यक्ष जोशीले पत्रकारप्रति आक्रोश व्यक्त गर्दै “पत्रकारहरू डाका हुन्”, “तिमीले जे गर्न सक्छौ गर”, “कारबाही गर्ने भए अगाडि बढ”, “तपाईं को हुनुहुन्छ हामीसँग प्रश्न सोध्ने?” जस्ता अभिव्यक्ति प्रयोग गरेको पत्रकार नरेशप्रसाद जोशीले बताएका छन् । उनले “धनगढी र काठमाडौं बसेर फुर्तिका कुरा नगर्नुस्, यहाँ आएर हेर्नुस्। सबैभन्दा बढी काम गर्ने वडा अध्यक्ष म नै हुँ” भन्दै अन्ततः फोन काटेको पत्रकार जोशीको दाबी छ ।

वडा अध्यक्षको उक्त अभिव्यक्तिप्रति सञ्चारकर्मी तथा स्थानीय तहका सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन् । सार्वजनिक पदमा बसेका जनप्रतिनिधिले पत्रकारमाथि यस्ता शब्द प्रयोग गर्नु लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारविपरीत भएको टिप्पणी हुन थालेको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको छ भने सञ्चारमाध्यमलाई सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्ने, तथ्य संकलन गर्ने र जनतालाई सूचना दिने जिम्मेवारी प्रदान गरेको छ । त्यसैले सार्वजनिक पदमा रहेका व्यक्तिले पत्रकारका प्रश्नको उत्तर दिनुभन्दा उल्टै धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग गर्नुले जनप्रतिनिधिको उत्तरदायित्वमाथि नै प्रश्न उठाएको विश्लेषण गरिएको छ ।

यता वडा अध्यक्ष नवराज जोशीले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन् । उनले विदाको दिनबाहेक नियमित रूपमा कार्यालयमा उपस्थित रहने, बिहान करिब ९ देखि ९ः३० बजेसम्म कार्यालय पुग्ने गरेको तथा वडा कार्यालयबाट सेवा सहज रूपमा प्रवाह भइरहेको दाबी गरेका छन् । सेवाग्राहीले कुनै समस्या नभोगेको र आफूमाथि लगाइएका आरोपहरू अतिरञ्जित भएको उनको भनाइ छ ।

यद्यपि स्थानीयहरू भने वडा कार्यालयमा सेवा प्रवाह प्रभावकारी बनाउन, कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्न तथा जनप्रतिनिधिको जिम्मेवारीपूर्ण व्यवहार कायम गराउन गाउँपालिका नेतृत्व, सम्बन्धित निकाय तथा जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र सार्वजनिक सेवा प्रवाहमा देखिएका कमजोरी तत्काल सुधार गर्न माग गरेका छन् ।

यसैबीच जनआवाज मिडियाले पनि सार्वजनिक सरोकारका विषयमा सत्यतथ्य उजागर गर्ने आफ्नो दायित्वलाई निरन्तरता दिने जनाएको छ । स्थानीय तहको सेवा प्रवाह, जनप्रतिनिधिको उत्तरदायित्व तथा नागरिकले भोगिरहेका समस्याबारे थप तथ्य संकलन गर्दै यस विषयको अनुगमन र समाचार सम्प्रेषणलाई निरन्तर अघि बढाइने जनाइएको छ ।