July 27, 2026, Monday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

लाम्पाटा घटना : १० जना पुर्पक्षमा, ८ जनालाई धरौटी

२०८३ असार ३०

420

बाजुरा :  बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनामा पक्राउ परेका २१ जनामध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाजुराले आदेश दिएको छ ।

अदालतले सोमबार ८ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । घटनामा संलग्न आरोपितमध्ये एक जना अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले शरीर बन्धक बनाएको कसुरमा २१ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

थुनामा पठाइएकाहरूमा देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शंकर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन् ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ अनुसार प्रतिवादीहरूको आर्थिक अवस्थालाई विचार गरी सोही संहिताको दफा ६८ बमोजिम जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजंग जेठारा र ज्ञानेन्द्र छत्याललाई धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतले सोही संहिताको दफा ६९ बमोजिम बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । एक जना अझै फरार छन् भने एक जनाको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यलय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताए ।
गत जेठ ३ गते हुम्लाबाट आएका स्थानीयको एक समूहले हिमाली गाउँपालिका–३, लाम्पाटा पुगेर स्थानीय जनप्रतिनिधि तथा बासिन्दामाथि कुटपिट, दुर्व्यवहार र बन्धक बनाएको आरोप छ ।
लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भइरहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेर भवन निर्माण सुरु गरेपछि त्यसको विरोधमा हुम्लाका केही स्थानीय त्यहाँ पुगेका थिए । उनीहरूले प्रहरी चौकी निर्माण रोक्न खोज्नुका साथै स्थानीयमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोप थियो ।
घटनामा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गोरा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, नरबहादुर गुरुङ, प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएका थिए । गम्भीर घाइते पेमा गोरा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरमार्फत काठमाडौं लगेर उपचार गरिएको थियो । उपचारपछि उनीहरू घर फर्किसकेका छन् ।
साथै, जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि पुगेको टोलीमाथि पनि कुटपिट तथा दुर्व्यवहार भएको थियो । उक्त टोलीमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोली रहेको थियो । उनीहरूमाथि समेत आक्रमण भएको प्रहरीले जनाएको छ ।
लाम्पाटा घटना लगत्तै सरकारले सशस्त्र प्रहरी र नेपाली प्रहरीको अस्थायी सुरक्षा बेसक्याम्प स्थापना गरेको छ । लाम्पाटा सशस्त्र प्रहरी प्रहरी निरीक्षक जनक पौडेलेको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरिक्षक मिठुबहादुर बोहराको नेतृत्वमा ७ जना प्रहरी रहेका छन् ।