July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

‘धनगढी कोरा २०२६’ आयोजना हुँदै

२०८३ असार ३०

425

धनगढी :  आगामी साउन २ गते पाँचौँ संस्करणको ‘धनगढी कोरा २०२६’ आयोजना हुने भएको छ।

साइकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार गर्ने उद्देश्यले आयोजना हुँदै आएको धनगढी कोरा यस वर्ष पनि उत्सवका रूपमा मनाइने आयोजक ॐ श्रीनगर स्पोट्र्स क्लब, धनगढीले जनाएको छ । कार्यक्रमले स्थानीय साइकलप्रेमीहरूबीच भाइचारा, सहयोग, सद्भाव र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजकको छ । साथै युवाहरूमा स्वास्थ्य चेतना, वातावरण संरक्षण, सामाजिक सहकार्य र आन्तरिक पर्यटनप्रति सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

आयोजकका अनुसार यस वर्षको कार्यक्रममा कैलाली कञ्चनपुरसहित देशका विभिन्न स्थानबाट करिब ३०० जना साइकल यात्री सहभागी हुने अपेक्षा गरिएको छ । सहभागीहरूले करिब ६० किलोमिटर दूरीको सामूहिक साइकल यात्रा गर्दै धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न क्षेत्रको भ्रमण गर्नेछन् । यात्राका क्रममा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरिनेछ भने ती क्षेत्रहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

धनगढी कोरा २०२६ कुनै प्रतिस्पर्धात्मक साइकल दौड (रेस) नभई साइकल उत्सव हो । कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा साइकल यात्रा गर्दै विभिन्न स्थानमा विश्राम गर्ने, स्थानीय परिकारको स्वाद लिने, प्राकृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने, आपसी अनुभव साटासाट गर्ने तथा उत्सवमय वातावरणमा दिनभर रमाइलो गर्नेछन् ।

ॐ श्रीनगर स्पोट्र्स क्लबले धनगढी कोरालाई साइकलमैत्री समाज निर्माण, आन्तरिक पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा लागू औषध न्यूनीकरणको लागि समेत यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

उक्त साइकल राइडमा सहभागी हुनका लागि साउन १ गते बिहान ११ बजेभन्दा अगाडि आफ्नो नाम रजिस्टर गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।