July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिम खेलकुद परिषद्को मुख्य प्रायोजनमा ‘धनगढी कोरा २०२६’ आयोजना हुँदै

२०८३ असार ३१

1.9K

धनगढी- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रायोजन तथा ॐ श्रीनगर स्पोर्ट्स क्लब, धनगढीको आयोजनामा आगामी साउन २ गते पाँचौँ संस्करणको ‘धनगढी कोरा २०२६’ आयोजना हुने भएको छ।

कार्यक्रमबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का ‘रवि’ ले खेलकुद र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने दृष्टिले धनगढी कोरा अत्यन्तै महत्त्वपूर्ण अभियान भएको बताए। उनले साइकल संस्कृतिको विकाससँगै स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा यस्ता कार्यक्रमले उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले सुदूरपश्चिममा खेल पर्यटन (Sports Tourism) को सम्भावना निकै ठूलो रहेको उल्लेख गर्दै यस्ता गतिविधिले प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने बताए। खेलकुदलाई पर्यटनसँग जोडेर प्रदेशको आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले खेलकुद परिषद्ले धनगढी कोरा २०२६ को मुख्य प्रायोजन गरेको उनको भनाइ थियो।

आयोजकका अनुसार साइकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजना हुँदै आएको धनगढी कोरा यस वर्ष पनि उत्सवकै रूपमा मनाइनेछ। कार्यक्रमले स्थानीय साइकलप्रेमीहरूबीच भाइचारा, सहयोग, सद्भाव र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै युवाहरूमा स्वास्थ्य चेतना, वातावरण संरक्षण, सामाजिक सहकार्य र आन्तरिक पर्यटनप्रति सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

यस वर्षको कार्यक्रममा कैलाली, कञ्चनपुरसहित देशका विभिन्न स्थानबाट करिब ३०० जना साइकल यात्री सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले करिब ६० किलोमिटर दूरीको सामूहिक साइकल यात्रा गर्दै धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्नेछन्। यसबाट ती क्षेत्रहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास गरिएको छ।

धनगढी कोरा २०२६ कुनै प्रतिस्पर्धात्मक साइकल दौड (रेस) नभई सामूहिक साइकल उत्सव हो। सहभागीहरूले यात्रा अवधिभर विभिन्न स्थानमा विश्राम गर्दै स्थानीय परिकारको स्वाद लिने, प्राकृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा उत्सवमय वातावरणमा सहभागी हुनेछन्।

ॐ श्रीनगर स्पोर्ट्स क्लबले साइकलमैत्री समाज निर्माण, आन्तरिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा लागूऔषध न्यूनीकरणका लागि निरन्तर यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

उक्त साइकल राइडमा सहभागी हुन इच्छुकले साउन १ गते बिहान ११ बजेसम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।

रजिस्टर गर्नका लागि निम्न लिङ्क र सम्पर्क नम्बरमा समेत सम्पर्क गर्न सकिने छ

कार्यक्रम संयोजक : जीवन खड्का ९८५११६१३८८

: शान्तिप्रसाद जोशी ९८६०१६१४९३

 

http://www. mykorachallenge.com