July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

विश्व हिन्दू परिषदको आयोजनामा कैलारीमा निःशुल्क आँखा शिविर सम्पन्न ७०६ जना लाभान्वित

२०८३ श्रावण ४

470

धनगढी– विश्व हिन्दू परिषद नेपाल, कैलाली जिल्ला अन्तर्गत कैलारी गाउँ कार्य समितिको आयोजनामा तथा गेटा आँखा अस्पताल र रुईत फाउण्डेशनको प्राविधिक सहयोग एवं कैलारी गाउँपालिका–१ को सहकार्यमा कैलारी गाउँपालिकाको हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा एकदिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । बिहानदेखि साँझसम्म सञ्चालन भएको शिविरमा आँखा परीक्षण, आवश्यक परामर्श, औषधि वितरण तथा थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरिएको आयोजकले जनाएको छ ।

शिविरबाट कुल ७०६ जना नागरिक लाभान्वित भएका छन् । सेवा लिनेमध्ये २१२ जना पुरुष र ४९४ जना महिला रहेका छन् । विशेषज्ञ चिकित्सकको टोलीले सहभागीहरूको आँखा परीक्षण गरी विभिन्न प्रकारका आँखा सम्बन्धी समस्याको पहिचान गरेको थियो ।

परीक्षणका क्रममा दृष्टिदोष देखिएका १८१ जनालाई सहुलियत दरमा चस्मा वितरण गरिएको थियो । त्यस्तै, ५८ जनामा मोतियाबिन्दुको समस्या देखिएकाले उनीहरूलाई गेटा आँखा अस्पतालमा शल्यक्रियाका लागि रेफर गरिएको छ । शिविरमा आएका सबै बिरामीलाई आवश्यकताअनुसार औषधिसमेत निःशुल्क वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

विश्व हिन्दू परिषद नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत यसअघि असार २ गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि एकदिवसीय निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो, जहाँ पनि ठूलो संख्यामा स्थानीय नागरिकले सेवा लिएका थिए।

शिविरमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।
स्थानीय बासिन्दाले आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क आँखा परीक्षण, परामर्श, औषधि तथा आवश्यक उपचारको सुविधा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनीहरूले यस्ता स्वास्थ्य शिविरले ग्रामीण तथा आर्थिक रूपमा विपन्न नागरिकलाई प्रत्यक्ष राहत पुगेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

यस्ता निःशुल्क स्वास्थ्य शिविरले समयमै रोगको पहिचान गरी जटिल समस्या हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा पनि कैलालीसहित अन्य जिल्लाका विभिन्न स्थानीय तहमा यस्ता सेवा विस्तार गर्ने योजना रहेको विश्व हिन्दू परिषद नेपाल सुदूर पश्चिम प्रदेश अध्यक्ष महेन्द्र राज पन्तले बताएका छन् ।