धनगढी : सुदूरपश्चिमको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटे बाघको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्ज कार्यालयका अनुसार पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणले निकुञ्जमा ५० बाघ रहेको देखाएको हो ।
२०८२ मा नेपालभरी बाघको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणबाट प्राप्त मुलुकभरीको बाघको तथ्याङ्क विश्व बाघ दिवसको अवसर पारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले आज सार्वजनिक गरेको छ ।
शुक्लाफाँटामा पछिल्लो चार वर्षको अवधिमा १४ वटा बाघ बढेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । यसअघि भएको सर्वेक्षणले निकुञ्जमा ३६ वटा बाघ रहेको देखाएको थियो ।








