धनगढी : धनगढीमा पहिलो पटक राष्ट्रियस्तरको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ।शुक्रबार ब्ल्याक स्टोन फिटनेसले पत्रकार सम्मेलन गर्दै आगामी असोज १७ गते हुने प्रतियोगितामा देशभरका खेलाडी सहभागी हुने जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता विश्व पावरलिफ्टिङका नियम तथा मापदण्डअनुसार सञ्चालन हुने छ। प्रतियोगितामा खुला पुरुष, खुला महिला, पुरुष मास्टर्स तथा पुरुष जुनियर्स विधामा विभिन्न तौल र उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा उमेरतर्फ दुई र तौलतर्फ १० गरी जम्मा १२ समूह समावेश गरिएको छ। खुला पुरुषतर्फ ६२ केजीमुनिदेखि ९४ केजीमाथिसम्म, खुला महिलातर्फ ५३ केजीमुनिदेखि ६४ केजीमाथिसम्मका तौल समूह रहनेछन्। त्यस्तै पुरुष मास्टर्सतर्फ ४० वर्षमाथि र पुरुष जुनियर्सतर्फ २३ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्।
खुला पुरुष तथा महिला तौल समूहका प्रत्येक स्वर्ण पदक विजेताले ३० हजार रुपैयाँ, रजत पदक विजेताले १५ हजार रुपैयाँ र कांस्य पदक विजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। पुरुष मास्टर्स र पुरुष जुनियर्सतर्फ पनि यही पुरस्कार व्यवस्था गरिएको छ।
यसैगरी प्रतियोगिताका समग्र उत्कृष्ट पुरुष र महिला विजेतालाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको कुल नगद पुरस्कार, पदक तथा उपहार सामग्रीसहितको पुरस्कार राशि १५ लाख रुपैयाँभन्दा बढी रहने बताइएको छ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिनेछ भने निर्णायकको भूमिकामा विश्व पावरलिफ्टिङबाट प्रमाणित निर्णायक रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामार्फत नेपालका पावरलिफ्टिङ खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवामा नियमित शारीरिक व्यायाम, स्वस्थ जीवनशैली र खेल संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको छ।
ब्ल्याक स्टोन फिटनेसका प्रतियोगिता संयोजक जोगेन्द्र राज पाण्डे ले देशभरका पावरलिफ्टिङ खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै दर्ता तथा थप जानकारी ब्ल्याक स्टोन फिटनेसको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत सार्वजनिक गरिने जानकारी दिए।








