August 23, 2026, Sunday
२०८३ भाद्र ८
Nepal 1:37:26 pm
Trending
जन आवाज

फरवेस्टर्न राइडर्सको आयोजना र निसर्ग अस्पतालको सहकार्य ‘ओल्के हेरिटेज राईड २०८३’ आयोजना हुँदै

२०८३ श्रावण २२

1.9K

धनगढी- सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान बोकेको ओल्के (त्यार) पर्वको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले ‘ओल्के हेरिटेज राईड २०८३’ आयोजना हुने भएको छ।

फरवेस्टर्न राइडर्सको आयोजना तथा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा हुन लागेको उक्त सामूहिक साइकल यात्रा श्रावण ३० गते शनिबार बिहान ७ बजेदेखि सुदूरपश्चिमका विभिन्न स्थानबाट एकैसाथ सञ्चालन हुनेछ।

आयोजकका अनुसार धनगढी, अत्तरिया, महेन्द्रनगर, बेलौरी, पुनर्वास, बर्दगोरिया र डडेल्धुराबाट राइड एकै साथ सञ्चालन गरिनेछ । कार्यक्रमले साइकल यात्रामार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिमको मौलिक संस्कृति, सम्पदा, वातावरण संरक्षण र सामाजिक एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

आयोजकले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘ओल्के हेरिटेज राईड’ केवल साइकल यात्रा नभई सुदूरपश्चिमको सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासँग जोड्ने अभियान भएको जनाएको छ ।

कार्यक्रममा बोल्दै फरवेस्टर्न राइडर्सका संस्थापक अध्यक्ष भरतविक्रम शाहले हरेक वर्ष भदौ १ गते सुदूरपश्चिममा मनाइने ओल्के पर्व डोटेली समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व रहेको र‘ओल्के’ भन्नाले मान्यजनलाई सम्मानपूर्वक भेट्ने, शुभकामना आदान–प्रदान गर्ने तथा पारिवारिक र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने परम्परालाई जनाउने र ओल्के पर्वले अग्रजप्रतिको सम्मान, परिवार तथा आफन्तबीचको आत्मीयता, सामाजिक सद्भाव, प्रकृतिप्रतिको कृतज्ञता र नयाँ कृषि मौसमको स्वागतजस्ता महत्वपूर्ण सांस्कृतिक सन्देश बोकेको बताए ।

उनले वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन सफल भएको खुसी साटासाट गर्दै हरियो सागपात तथा स्थानीय उत्पादन आफन्त र छिमेकीको घरमा लैजाने परम्परासँग ओल्के पर्व जोडिएको समेत बताएका हुन्।

यसैगरी पौराणिक मान्यताअनुसार भगवान् श्रीकृष्णले राक्षसी पुतनाको वध गरेपछि असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा ‘बूढी पोल्ने’ परम्परा सुरु भएको जनविश्वास छ । यसले अशुभता र नकारात्मकताको अन्त्य गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्ने सांस्कृतिक सन्देश बोकेको छ ।

राइड २०८३ श्रावण ३० गते बिहान ६ बजे डेभोटी चोकबाट सुरु भएर क्याम्पस चोक, गुरही चोक, चौराहा, शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा, जोनापुर, घोडासुब्बा, बेला धामबाट क्याम्पस चोक हुँदै पुन डेभुटी होटेलमा पुगेर पर्वमा ओल्के पर्वमा तयार गरिने सुदूरपश्चिमका विशेष परिकारहरूलाई ग्रहण गर्दै समापन हुने समेत फरवेस्टर्न राइडर्स क्लबले जनाएको छ।

राइडर र परिवारलाई निसर्ग अस्पतालमा विशेष छुट

यस वर्षको ओल्के हेरिटेज राईडलाई स्वास्थ्यसँग जोड्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सहभागी राइडर तथा उनीहरूको परिवारका सदस्यलाई उपचार सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।

आयोजकका अनुसार ओल्के हेरिटेज राईडमा सहभागी हुने राइडर तथा उनका परिवारका सदस्यहरूले निसर्ग अस्पतालमा उपलब्ध स्वास्थ्य तथा उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । यस व्यवस्थाले कार्यक्रमलाई केवल सांस्कृतिक र खेलकुद गतिविधिमा सीमित नराखी सहभागी तथा उनीहरूको परिवारको स्वास्थ्यप्रति समेत जिम्मेवार बनाउने विश्वास आयोजकको छ।

स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको साइकल यात्रामा स्वास्थ्य संस्थाको सहकार्यले ‘संस्कृति, स्वास्थ्य र सामाजिक जिम्मेवारी’लाई एउटै अभियानमा जोड्ने प्रयासका रूपमा लिइएको छ ।

नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्ने लक्ष्य

आयोजकका अनुसार आधुनिक जीवनशैलीका कारण नयाँ पुस्ता आफ्नो मौलिक भाषा, संस्कृति र परम्पराबाट क्रमशः टाढिँदै गइरहेको अवस्थामा ओल्के हेरिटेज राईडले युवापुस्तालाई आफ्नै सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गर्नेछ।

ओल्के हेरिटेज राईड केवल साइकल यात्रा होइन, यो हाम्रो संस्कृति, सम्पदा, स्वास्थ्य, वातावरण र सामाजिक एकतालाई जोड्ने साझा अभियान रहेको फरवेस्टर्न राइडर्स क्लबका संस्थापक अध्यक्ष शाहले बताए ।

सुदूरपश्चिमको मौलिक परम्परा परम्परागत चाडपर्वहरू, सम्पूर्ण जातजातिका रहनसहन र भेषभुषालाई नयाँ पुस्तामाझ चिनाउँदै यसको संरक्षण र प्रवर्द्धन गर्ने तथा स्थानीय सांस्कृतिक सम्पदाप्रति गर्व गर्ने वातावरण निर्माण गर्नु अभियानको प्रमुख उद्देश्य रहेको समेत उनले बताएका छैन् ।

सबैलाई सहभागिताको आह्वान

आयोजकले राइडमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र अनुशासित रूपमा साइकल यात्रा गर्न आग्रह गरेको छ।

साथै राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम, पत्रकार, फोटो तथा भिडियो पत्रकार, डिजिटल मिडिया, सामाजिक अभियन्ता तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई सुदूरपश्चिमको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने अभियानलाई सफल बनाउन सहयोग गर्न अपिल गरिएको छ।

ओल्केको मौलिकता, साइकलको गति र स्वास्थ्यको सन्देशसँगै आयोजना हुने ‘ओल्के हेरिटेज राईड २०८३’ ले सुदूरपश्चिमको संस्कृति र आधुनिक पुस्ताबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।