July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

२४औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस सफलतापूर्वक सम्पन्न

२०८२ चैत्र ८

265

काठमाडौं,८ चैत । काठमाडौँस्थित भारतीय राजदूतावासले २४औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस एक विशेष समारोहका बिच मनाएको छ। दूतावास आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०२५–२६ का लागि छनोट भएका २०० नेपाली विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सन् २००२ मा भारत र नेपालबिचको आर्थिक सहयोगको ५० वर्ष पुगेको अवसरमा स्थापना गरिएको यो छात्रवृत्ति योजना अन्तर्गत हालसम्म नेपालका ७७ वटै जिल्लाका विद्यार्थी लाभान्वित भइसकेका छन्। समारोहमा नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको बाक्लो उपस्थिति रहेको थियो।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका डा. अमर प्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका डा. बिजु कुमार थापलिया, मध्य–पश्चिमाञ्चल विश्वविद्यालयका डा. ध्रुव कुमार गौतम, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विक्रम प्रसाद श्रेष्ठ, लुम्बिनी प्राविधिक विश्वविद्यालयका डा. विनोद प्रसाद ढकाल र पोखरा विश्वविद्यालयका प्रा. बेदराज केसी लगायतको उपस्थिति थियो। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका डिन, रजिस्ट्रार र प्रतिष्ठित विद्यालयका प्रधानाध्यापकहरू समेत सहभागी थिए।

भारतीय राजदूत नवीन श्रीवास्तवले मेधावी विद्यार्थीहरूलाई एम्बेसडर गोल्ड जुबली स्कलरशिप रोल अफ अनर प्रदान गर्दै बधाई दिएका थिए। सो अवसरमा राजदूत श्रीवास्तवले भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (इन–स्पान) जस्ता नयाँ पहलहरूबारे जानकारी दिए। यस नेटवर्कले दुवै देशका युवा उद्यमीहरूलाई एकै ठाउँमा ल्याउने, सहकार्य बढाउने र नवप्रवर्तनको संस्कृति विकास गर्ने लक्ष्य राखेको छ। यस वर्षको छात्रवृत्ति प्राप्त गर्नेहरूमा नेपालका ७५ जिल्लाका विद्यार्थी समेटिएका छन्, जसमा ४० प्रतिशत छात्राहरू र अपाङ्गता भएका विद्यार्थीहरू समेत रहेका छन्।

भारत सरकारले वार्षिक रूपमा करिब १,५०० नेपाली विद्यार्थीलाई इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापन, नर्सिङ, आयुर्वेद, योगदेखि नृत्य र नाटकसम्मका विभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ। सन् २००१ देखि यता ४०,००० भन्दा बढी नेपाली विद्यार्थीले भारत सरकारका विभिन्न छात्रवृत्ति योजनाबाट लाभ उठाउन सफल भएका छन्।