August 2, 2026, Sunday
२०८३ श्रावण १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

साम्बाको उपचार खर्च जुटाउन २४ घण्टामै ४१ लाखभन्दा बढी संकलन

२०८२ फाल्गुन १२

460

काठमाडौं, १२ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि विदेशबाट एकै दिनमा ४१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ। सामाजिक सञ्जालमार्फत सुरु गरिएको सहयोग अभियानमा प्रवासमा रहेका नेपालीहरू उल्लेखनीय रूपमा जुटेपछि छोटो समयमै ठूलो रकम उठेको हो।

साम्बाले आफ्नो उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने जानकारी दिएकी थिइन्। सो रकममध्ये महत्वपूर्ण हिस्सा विदेशबाटै जुटिसकेको छ भने नेपालभित्रबाट पनि खेलप्रेमी, शुभेच्छुक तथा विभिन्न संघ–संस्थाबाट सहयोग प्राप्त भइरहेको बताइएको छ। सहयोग अभियान अझै जारी रहेकाले आवश्यक सम्पूर्ण रकम जुट्ने विश्वास व्यक्त गरिएको छ।

हाल उनी घुँडाको गम्भीर चोटका कारण उपचाररत छिन्। चिकित्सकका अनुसार उनको घुँडाको एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) र एमसिएल (मेडियल कोलेटरल लिगामेन्ट)मा गम्भीर क्षति पुगेको छ। यसअघि उपचार गरिए पनि पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जनाइएको छ। विशेषज्ञ चिकित्सकको निगरानीमा विदेशमै शल्यक्रिया गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

साम्बा नेपाली महिला फुटबलको प्रमुख स्ट्राइकरका रूपमा परिचित छिन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले महत्वपूर्ण गोलहरू गर्दै टोलीलाई सफलता दिलाएकी छन्। उनको अनुपस्थिति टोलीका लागि ठूलो क्षति मानिए पनि समर्थकहरूले उनी चाँडै पूर्ण स्वास्थ्य लाभसहित मैदानमा फर्किने आशा व्यक्त गरेका छन्।

यसबीच, राष्ट्रिय खेलकुद क्षेत्रका खेलाडी, प्रशिक्षक तथा शुभेच्छुकहरूले साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग अभियानमा ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जालमा ‘साम्बाका लागि साथ’ अभियानले व्यापक समर्थन पाइरहेको छ।