August 3, 2026, Monday
२०८३ श्रावण १९
Nepal 1:37:26 pm
Trending
जन आवाज

कामका क्रममा दुर्घटना, टिपर चालकको करेन्ट लागेर मृत्यु

२०८२ फाल्गुन १५

360

काठमाडौं,१५ फागुन । सिराहाको गोलबजार नगरपालिका– २, गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर सवारीधनीसमेत रहेका चालकको मृत्यु भएको छ । गोलबजार– ३ घर भई २ नम्बर वडामा बस्दै आएका सवारीधनीसमेत रहेका करिब ४३ वर्षीय सन्तोष साहलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि स्थानीय हेल्थ केयर अस्पतालमा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल ल्याइएको छ ।

गुरुधाम जाने बाटोमा शुक्रबार बिहान करिब पौने ९ बजेतिर प्र.२–०–००१ क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्न हाइड्रोलिक उठाउँदा विद्युतको प्रसारणलाइनलाई छोएपछि करेन्ट लागेर टिपरमा आगलागी भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

उनका अनुसार घटनाको विषयमा जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक सुदन केसीको कमान्डमा खटिएको टोलीले बिहान करिब सवा ९ बजेतिर टिपरमा लागेको आगो नियन्त्रणमा लिइएको छ । गोलबजार प्रहरीबाट करिब तीन किलोमिटर पूर्व–उत्तरमा पर्ने ठाउँमा भएको घटनाको विषयमा थप अनुसन्धान थालिएको छ ।