August 3, 2026, Monday
२०८३ श्रावण १९
Nepal 1:37:26 pm
Trending
जन आवाज

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल गर्न प्रलोपाको माग

२०८२ फाल्गुन १७

285

काठमाडौं, १७ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक परे स्वदेश फिर्तीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। पछिल्ला दिनहरूमा मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र अस्थिरताले त्यहाँ कार्यरत तथा बसोबास गर्दै आएका नेपालीहरू जोखिममा परेको भन्दै पार्टीले औपचारिक रूपमा सरकारको ध्यानाकर्षण गराएको हो।

पार्टीले जारी गरेको वक्तव्यमा युद्धको चपेटामा परेका नेपालीहरूको यथार्थ अवस्था सार्वजनिक गर्न आग्रह गरिएको छ। “मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षा अवस्था, उनीहरूको संख्या र हालको अवस्थाबारे स्पष्ट विवरण सार्वजनिक गरिनुपर्छ,” वक्तव्यमा उल्लेख छ।

पार्टीले संकटग्रस्त क्षेत्रमा रहेका नेपाली कामदार, विद्यार्थी तथा अन्य नागरिकको अवस्थाबारे परराष्ट्र मन्त्रालय र सम्बन्धित दूतावासमार्फत नियमित जानकारी संकलन गरी पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ।

यसैगरी, युद्धका कारण जोखिम बढेकाले आवश्यक कूटनीतिक पहल तत्काल अघि बढाउन पार्टीले सरकारलाई आग्रह गरेको छ। सम्बन्धित देशका सरकारहरूसँग समन्वय, सुरक्षित स्थानमा स्थानान्तरण, आकस्मिक उद्धार योजना तथा आवश्यक परे चार्टर उडानमार्फत स्वदेश फिर्तीको व्यवस्था गर्नुपर्ने माग पार्टीको छ।

पार्टीले विदेशमा रहेका नेपाली नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राखी तयारी अवस्थामा रहन सरकारलाई सचेत गराएको छ। साथै, संकटग्रस्त क्षेत्रमा रहेका नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन र आधिकारिक सूचनामात्रै विश्वास गर्न पनि अनुरोध गरिएको छ।

मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिले हजारौं नेपाली कामदार प्रभावित हुन सक्ने आकलन गरिँदै आएको छ। यस्तो अवस्थामा समयमै कूटनीतिक सक्रियता, स्पष्ट सूचना प्रवाह र आवश्यक परे उद्धार संयन्त्र परिचालन गर्नुपर्ने मागलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा बहस बढ्दो छ।